Showing posts with label Disaster Management. Show all posts
Showing posts with label Disaster Management. Show all posts

Friday, August 7, 2015

विपद् व्यवस्थापनमा सामान्य झै लाग्ने गम्भिर पक्षहरु : एक विवेचना Np


विपद् व्यवस्थापनमा सामान्य झै लाग्ने गम्भिर पक्षहरु : एक विवेचना


बर्सेनि संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय प्राकृतिक प्रकोप न्युनिकरण दिवस अक्टोवर महिनाको दोस्रो बुधवार प्रकोपको जोखिम न्युनिकरणकै महत्वका लागि मनाउदै आएको छ । यसले विश्वव्यापी जनता तथा सरकारहरुलाई उक्त किसिमका जोखिम प्रतिरोधी समुदाय एवम् राष्ट्र निर्माणमा उत्प्रेरणा प्रदान गर्दछ । त्यस अवसरमा संचार माध्यमहरुमा अभियानकै रुपमा प्रचार प्रसार तथा जनजागरणमा आधारित कार्यक्रमहरु प्रसारित हुन्छन् । सरकारी, गैरसरकारी संघ संस्थाहरु, शैक्षिक प्रतिष्ठान आदि जागरुक नागरिकहरुको समुहद्वारा आयोजना हुने नागरिक सचेतना अभिवृद्घि कार्यक्रमहरु अन्तर्गतका नाटक मञ्चन, चित्रकारिता, फोटोग्राफी प्रतियोगिता, कथावाचन, प्रभात फेरी, वृक्षारोपण, गोष्ठि संचालन, अन्तरक्रिया जस्ता अनेकन् क्रियाकलापहरु हुने गर्दछन् । मुल उद्देश्य विश्वभर धेरै  मानिसहरुले जिउधनको नोक्सानी अप्रत्याशित रुपमा बेहोर्नु परेको प्राकृतिक प्रकोपको रोकि नसक्नु तितो सत्यको न्युनिकरण गर्नु हो । प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प, बाढी, पहिरो र आगजनी नेपालको परिप्रेक्ष्यमा प्रायसः हुने गरेको पाइन्छ । विगत प्रकोपहरुको अध्ययनले ठूलो संख्यामा देशको जनधनको क्षति भएको तथ्याङ्क प्रस्तुत गर्दछ भने आउँदा दिनहरुमा बढी जनघनत्व, भवन संरचनाहरुको बाहुल्यता र प्राकृतिक श्रोतहरुको अत्याधिक दोहन जस्ता कारणहरुले अझ बढी विभत्स दुर्घटना हुने संभावना अत्यधिक बढेर गएको वास्तविकता नकार्न सक्ने अवस्था छैन ।
       वि.सं. २०६६ बैशाख १० गतेको एउटा ज्वलन्त दृष्टान्त, रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप गाविस वा.नं. ८ मा नजिकको मानव बस्ती तर्फ बारीपाखा सामुदायिक बनको डढेलो रोक्न खटि गएका १३ जना नेपाली सेनाका फौजले जिउदै आगोको घेराबन्दिमा परेर बीर गति प्राप्त गरे । त्यसता दुखद दुर्घटना हुन नदिन सुरक्षाका लागि खटि जाने सुरक्षाकर्मी स्वयम् पहिले सुरक्षित रहनु सक्नु पर्दछ । शारिरीक बल र कौशल मात्र प्रकोप नियन्त्रण वा मत्थर पार्न पर्याप्त हुन सक्दैन ।
        सन् २००० सेप्टेम्वर ११ तद् अनुसार वि.सं. २०५७ भाद्र २६ गते अमेरिकाको ट्विन टावर माथि आतङ्ककारी हमलामा हताहत जन समुदायको तत्काल उद्घारका लागि गएका सुरक्षाकर्मीहरुमाथि पनि विशाल भवनको जल्दै गरेको भग्नावशेष खस्नाले अर्को मार्मिक दुर्घटना हुन गएको थियो । त्यसतै दुर्घटना वि.सं. २०४५ सालको भुकम्पको विनाशबाट पिडित जनताको राहतका लागि खाद्यान्न वितरण हुदा भक्तपुरमा भएको अनियन्त्रित भिडको किचाईबाट अकारण कतिले ज्यान गुमाएका थिए ।
        यो पंक्तिकार आफु संयुक्त राष्ट्रसंघको शाति स्थापनाका लागि सन् २००१ मा पूर्व युगोस्लाभिया कोसोभोमा सेवारत छदा सडकमा सवारी दुर्घटनाका घाइतेहरुलाई उद्घारका निम्ति उठाउन जॉदा संगैका अन्तराष्ट्र्रिय प्रहरी सहकर्मीहरुका साथ हातमा मेडिकल पञ्जा लाएर मात्र अघि बढेको संस्मरण ताजै रहेको छ । घाइतेको अङ्गभङ्गबाट भएको रक्तश्राव उद्घारकर्ताको शरीर र लुगामा लतपतिन गई एड्स र हेपाटाइटिस बी जस्ता रोगको संक्रमणको सम्भावना प्रति पूर्व होशियारी अपनाउनु प्राथमिकतामा पर्दछ । अर्कातिर, संक्रमित सुरक्षकर्मीको आप्mनै हात पाखुरामा कुनै खटिरा वा चोट पटक भए त्यसैबाट घाइतेको रगत माध्यमबाट घाइतेलाई संक्रमणको अर्को जोखिम थप हुन सक्दछ । भुकम्प अथवा अन्य कुनै कारणवश भत्किएका भवन जस्ता कुनै संरचनाले दबिएका घाईतेको उद्घार कार्यमा बडो जतनसाथ उपलव्ध भए सम्म प्रशिक्षित जनशक्तिको सहायता लिनु पर्दछ । अन्यथा मुढे बलको भरमा ढंग नपुराएकै कारण अन्जानवश घाईतेको जिउ ज्यान संकटमा पर्न सक्दछ ।
        अनेक किसिमका अस्वाभाविक प्रकृतिका घटनाहरुमध्ये अपवादका रुपमा कहिले कॉही आगजनी अथवा विपत्ती भएका स्थलमा उपस्थित सबै सहृदयी र सहयोगी हुन्छन भन्नें हुदैंन । मौकाको ताकमा रहेकाहरुले लुट्ने कार्यमा ध्यान मोडेर घाईतेहरु प्रति बेवास्ता गर्दै मानविय कमजोरी नियन्त्रण गर्न नसक्ने पनि हुन सक्छन । अनावश्यक रमितेको भिड सर्वथा बर्जित गर्नु पर्दछ । जीवितहरुले आफ्ना प्रियजनको खोजिमा यताउता दौडने क्रियाकलाप गर्दा उद्घारकर्मीहरुलाई वाधा पुग्न सक्छ तसर्थ त्यस घडीमा संयमता र सम्वेदनशीलता अपरिहार्य हुन्छ । जापानको कोबे स्थित माइको हाई स्कुलका विद्यार्थीहरुले  UNCRD Hyogo Office NSET-Nepal को सहायताले अन्तराष्ट्र्रिय कार्यक्रम मार्फत यस्तै जीवन रक्षक उपायहरु सिकाउन अनुभवको आदान प्रदानका लागि नेपालसंग संल्ग्न हुनु प्रशंसनिय कार्य गरि रहेका छन् । ती सबलाई साधुवाद
        धेरै घटनाहरु छन् जसको फेरिस्त लामो बन्छ उदाहरणको लागि घाईतेको प्राण रक्षार्थ द्रुत गतिको एमबुलेन्स आफै दुर्घटनाग्रस्त हुनु । उद्घारकर्ताले मनन गर्नु पर्नेकुरा नअत्तालिएर धैर्यपुर्वक सुरक्षाको सर्वोपरि महत्वको सिद्घान्तलाई अंगिकार गर्नु हो । अतएव उद्घार एवम् राहत कार्यमा संल्गन जनशक्ति पहिले आफै सुरक्षित रहे मात्र अरुको सुरक्षा गर्न सक्दछ । त्यसैले त हवाई जहाजको उडान हुनु अघि यात्रुहरुलाई आपतकालीन अवस्थामा सुरक्षाको पूर्व जानकारी गराउने सन्दर्भमा पहिले अभिभावकले अक्सिजनको मकुण्डो(mबकप) प्रयोग आफैलाई गरेर मात्र शिशुलाई सघाउनु निर्देशनमा भनिएको हुन्छ ।
         विपद् व्यवस्थापन सिलसिलेवार र क्रमिक योजनावद्घ ढंगबाट अन्य सम्बद्घ निकायहरु संगको समन्वयात्मक एवम् सहकार्यको परिचालनबाट व्यवस्थित, सहज तथा प्रभावकारी बन्न सक्दछ । 

२०७० मंसिर १९
प्रकाशित :
वार्षिक विशेषाङ्क माघ २, २०७०
सशस्त्र प्रहरी बल
विपद व्यवस्थापन तालिम केन्द्र, कुरिन्टार

Tuesday, July 14, 2015

विपत्तिमा सुरक्षा संयन्त्रको भूमिका Np

विपत्तिमा सुरक्षा संयन्त्रको भूमिका 
डा. कृष्ण कुमार तामाङ



प्राचीनकाल देखि सुरक्षाको अपरिहार्यतालाई प्राथमिकता र समाज शास्त्रमा सुरक्षालाई सर्वोपरी महत्व दिएकोे यथार्थ रही आएको छ । आपद्, विपद वा जुन सुकै किसिमको संकटलाई टार्न सुरक्षा संयन्त्रको उपस्थिति अनिवार्य हुन्छ । शोधमुलक अध्ययनहरुको तथ्याङ्कका अनुसार विश्वको कुनै भूखण्डमा भएका प्राकृतिक वा मानव श्रृजित विनाशकारी लीलाहरु हुँदाका परिस्थितिमा सुरक्षा संयन्त्रले उद्धारकार्यमा अग्रणी तथा प्रभावकारी भुमिका सम्पादन गरेकोे हुन्छ ।
              सुरक्षाको निदान संकटको विकल्पहीन तोड र विकासको कवच पनि हो । सुरक्षा भरपर्दो भएमा विकासको फड्को निर्वाध बन्न सक्दछ । नेपालको पछिल्लोे सशस्त्र द्वन्द्वकालमा एक किसिमको संकट थियो । नेपाली जनताले असह्य पीडा र वेदना भोगे । त्यस विषम घडीमा सुरक्षा संयन्त्रले मातृभुमीको आर्तनाद सुनेको थियो । मुलुक र मुलुकीका लागि समर्पित सुरक्षा संयन्त्रहरु एकजुट भएर फेरी यसपाली बेजोडको नमुना प्रस्तुत गरेका छन् । देशबासीको ज्वलन्त विनाश एक प्रकारको प्रलय भन्दा अत्युक्ति नहोला । हेर्दा हेर्दै अाँखा अगाडी भवन संरचनाहरु धमाधम ढले, भाग्दा भाग्दै कति उम्कन सकेनन्, कतिले आफना प्रियजन जोगाउन सकेनन्, कसैले सम्पत्ति साथमा लिन प्रयास गर्दा भग्नावशेषले थिचिएर अंगभंग हुन पुगे । यस्तै विडम्वनाका कथा व्यथा बोकेका घटना र पात्रहरु अनगिन्ती भए । हताहतीको संख्या आठ हजार नाघेर अझ अनिश्चित बन्दै बिस्तारै अघि बढी रहेको स्थिति छ ।
           २०७२ बैशाख १२ गतेको महाविनाशकारी भूकम्पको प्रकोपमा सिंगो राष्ट्रले अपुरणिय क्षति बेहोरेको छ । गोर्खालीको नामले परिचित नेपालीे धैर्य धारण गर्न सक्ने एव्म समयानुकुल आफुलाई परावर्तन गर्न क्षमता राख्ने यस विपत्तिको पीडामा समेत पुनः थोरै समय भित्रै सामान्य दिनचर्यामा फर्कन प्रयत्न हुनुलाई विदेशी मित्र तथा विज्ञवर्ग आश्चर्य मिश्रित सह्राना गर्छन् ।(अन्नपूर्ण, २०७२ बैशाख २८ गतै पृष्ठ १२ यति ठूलो विपत्तिमा पनि कोही मुस्कराउन सक्छ भनें त्यो केवल नेपालीमात्र हो ।)
         सुरक्षाफौजले गरेका उद्धार कार्यहरुको संचार माध्यमहरुमा मुक्त कण्ठले प्रशंसा भएका छन् । जनताको प्राण रक्षार्थ हाँछयू आईं दिए पनि भिषण वजनदार भग्नावशेष आफुमाथि खस्न सक्ने जोखिमका बावजुद साँघुरो च्याप भित्र पसेर घाइतेलाई बाहिर निकालेको सुरक्षाकर्मीलाई तत्काल जयजयकार गर्दै सोही स्थलमा साक्षी रहेका जनताले अपार हर्षको अनुभुती दिलाएका छन् । त्यो क्षण टिभिका समाचार च्यानेलहरु मार्फत प्रत्यक्ष देख्न पाउँदा विपत्ति माथि मानवताको विजय भएको छ । देश र जनताप्रतिको निस्वार्थ सेवाको प्रतिफल तत्काल आम जनताले पुनर्जीवन प्राप्त गरेको त्यस्ता दृश्य जीवन्त दृष्टिगोचर हुँदा  सम्वद्ध संगठनको सदस्यका अाँखाहरु हर्षका अश्रुले रसाएका थिए । सश्स्त्र प्रहरी बलका निरीक्षक लक्ष्मण बस्नेतले गरेको त्यस्तै एक चमत्कारिक चुनौतीपूर्ण उद्धार कार्यद्वारा जनता र देश प्रति सुरक्षाकमीको समर्पण रहेको परिदृश्य टिभिमा प्रसारित भई रहँदा दर्शकहरु रोमाञ्चित भएका थिए । अफगानिस्तानका बिन लादेन माथि प्रत्यक्ष फौजी कार्वाहीको क्षण टिभिमा हेरे जसरी दुनियाँका दर्शकहरुले एक टक नियालेर नेपालमा उद्धारका पलपल दृश्यहरु हेरेका  थिए ।
         प्राकृतिक अथवा मानव श्रृजित जुनै किसिमको पनि प्रकोपमा उद्धार गर्न दुसाध्य कार्य हो । प्रकोपको गहनतामा प्रलयको मात्रा निर्भरशिल हुन्छ । अर्को शव्दमा प्रकोप जति ठूलो हुन्छ तद्अनरुप क्षतिको परिमाण गम्भिर र वृहत आकारको हुन्छ । भूगोलविद् र प्रकोप व्यवस्थापन शास्त्रीहरुका अनुसार प्रकोपका पुर्व, प्रारम्भ, प्रकोपकालिन तथा पश्चात गरी चरणहरु वर्गिकरण गरिएका हुन्छन् । प्रकोप हुन अगावै गरिने प्रतिकारात्मक कार्वाहीको बढी महत्व हुन्छ । यदि प्रकोप अघिको चरणमा यथेष्ट तयारी र तद्अनुरुपको प्रक्रिया पुरा गरिएको भए प्रकोपको चर्को चटारो सहनु पर्ने अवस्था आउदैंन । निश्चितरुपमा आसन्न प्रकोपको पुर्ण रोकथाम सम्भव नभए तापनि प्रभावको दुष्परिणाम न्युनिकरण गर्न सकिन्छ । दक्षिण एशियामा चिन, सिंगापुर, जापान र दक्षिण कोरिया जस्ता औंलामा गन्न सकिने राष्ट्रहरुसंग प्राकृतिक प्रकोपको व्यवस्थापन तथा न्युनिकरण सम्वन्धि उन्नत किसिमका प्रविधि एव्म प्रशिक्षण प्राप्त जनशक्तिको उपलव्धता रहेको छ । यसरी हलुका, मध्यम र उन्नत गरी तिनथरीको क्षमतामा श्रोत साधनको श्रेणी विभाजन गरिएको हुन्छ । सश्स्त्र प्रहरी बलले वि.सं.२०५९ सालमा स्थापना भए देखि राज्य प्रदत्त कार्यादेश (सशस्त्र प्रहरी ऐन् २०५८ पच्छिेद २ङ)  बमोजिमको उल्लेखित जिम्मेवारी निर्वाहको क्रममा मध्यम स्तरको क्षमता विकासको आधार निर्माण गरी सकेकोे छ ।
          यस महाभूकम्पले गरेको विनाश लीलामा सुरक्षाकर्मीहरुको जनधन तथा भौतिक क्षति अपवाद हुन सकेन । तर, हौसलारुपी उर्जामा कत्ति ह्रास आएन बरु अझ जाज्वल्यवान बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका विभिन्न विधाका विज्ञहरुसंग सहकार्य र सम्पर्र्कले प्रविधि तथा सीप बारे थप सैद्धान्तिक र व्यवसायिक विशेषज्ञता अभिवृद्धि गर्न नयाँ कडीको पहिचान एव्ां समन्वयको सुत्रपात भएको छ । नेपालमा विध्वंस भएको बेला ३४ मित्र राष्ट्रहरुका ७६ समुह, १२९ तालिम प्राप्त उद्धार कुकुर र ४०५० उद्धारकर्मीहरुको अथक परिश्रमले ठूलो शितलता प्रदान गरेकोे छ । विभिन्न मित्र राष्टहरुका विज्ञ टोलीहरुको अभुतपर्व संलग्नताले नेपाललाई परेको वज्रपातको पीडा सहनमा केही सहजता भएको परिप्रेक्ष्यमा नेपाल पूर्ववत सामान्य जीवनयापन तर्फ अग्रसर भएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त संस्था इन्साराग (क्ष्ल्क्ब्च्ब्न्) का प्राविधिकहरु जापानबाट काठमाडौमा अवतरण गरे लगत्तै भूकम्पले ध्वस्त भएका संरचनाहरुमा दबिएकाहरुको उद्धारकार्यमा लागि परेका थिए । जापानबाट ७१ जनाको विपद् उदार टोलीहरुले केही समय केही स्थानहरुमा सप्रबलका उद्धारकर्मीहरु संग विताएका पलहरुले उनिहरुलाई प्रभावित तुल्याएको टोली नेताको भनाइ रहेको छ । सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरु जसरी उद्धार कार्यमा जुटे आकस्मिक राहत संयोजन÷प्रकोप राहत टोली प्रमुख सिजेनोबु कोवायासी सप्रबलको कार्य कौशल र लगनशिलता उच्च कोटीको भएको बताउनु हुन्छ । त्यसै गरी नेपालका लागी जापानी राजदुत महामहिम मासाही ओगावाको आफ्नै भनाइ रहेको छ । सशस्त्र प्रहरी बलका उच्च मनोबलयुक्त राष्ट्रसेवकहरुको कार्यक्षेत्रमा प्रदर्शन भएका कार्य कुशलता व्यवसायिक तथा प्रसंशनिय रहेको बताउनु हुन्छ । नेपाली सुरक्षाकर्मीहरु संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ युद्धग्रस्त मुलुकहरुको मिशनका अतिरिक्त अरु कैयन देशहरुमा शान्तिका बाहक बनेका छन् । आफ्नै देशमा भएको अकल्पनिय दुर्दशाको घटनामा अहोरात्र खटेर निंद्रा, भोक, तिर्खा र थकान सहेर मानविय संवेदना र पेशागत दक्षताको सदुपयोग गरेबाट सुरक्षा संयन्त्रले नेपाली जनताका मानसपटलमा असल मित्रको अमिट छाप बनाएको छ ।   
          सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुले स्वस्फुर्त आफ्ना तलबबाट ३ देखि १५ दिनको रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषलाई रु.६ करोड ३४लाख २५ हजार १ सय प्रदान गरेको छ । त्यसमाथि प्रधान कार्यालयमा रक्तदान शिविर खडा गरी भूकम्प पीडितहरुका लागि रगत संकलन भई रहेको बेला सप्रबल रंगशालाको खुला चउरमा भूकम्पको चपेटाबाट बच्न अस्थायी आश्रय लिई बसेका सर्व साधारण जनताहरु उक्त कार्यमा सरिक हन पुगे । यसरी अनुपम उदाहरण प्रस्तुत गर्ने नेपाली जनताको मनोविज्ञान उत्कर्षमा रहेको अद्वितिय संस्कार पुर्विय सभ्यताको सौन्दर्य सर्व ज्ञातव्य भएको छ । सशस्त्र प्रहरी परिवार महिला संघ भूकम्पग्रस्त जिल्लाहरुमा राहत वितरण कार्यमा संल्ग्न रहेको छ । नेपाल प्रहरी श्रीमती संघ रक्तदान र भूकम्प पीडितहरुलाई राहत वितरणको कार्यमा लागेको छ । नेपाल प्रहरी श्रीमतीसंघ र आसरा सुधार केन्द्रद्वारा संयुक्त रुपमा राहत स्वरुप रु. ५ हजार ५ सय ५५ र नेपाल प्रहरीका समस्त कर्मचारी वर्गबाट प्रधानमन्त्री दैबी प्रकोप उद्धारकोषलाई रु.१० करोड १ हजार ११ प्रदान भएको छ । नेपाली सैनिक श्रीमती संघबाट भूकम्पग्रस्त जिल्लाहरुमा भएका राहत वितरणका कार्यहरुले सुरक्षा फौजका घर परिवारहरुको पनि देशकालागि योगदान रहेको दिनको सूर्य जतिकै छल्ङ्र्ग छ ।
          प्रकोप न्युनिकरण तथा व्यवस्थापन दुई नितान्त भिन्न विषयहरु हुन् । व्यवस्थापन अन्तर्गत उद्धार, राहत वितरण, पुनस्र्थापन र पुनर्निर्माणका चार चरणबद्ध सिलसिलेवार कार्यहरु पर्दछन् । प्रकोप हुनासाथ गरिने जनधनको क्षति हुनबाट बचावको कार्वाही उद्धार हो । उपरोक्त प्रकोपका सुरक्षात्मक गतिविधीहरु मध्ये उद्धारको महत्व सर्वाधिक रहन्छ र यसको समयावधि अरुको अनुपातमा निश्चित, छोटो र संवेदनशिल हुन्छ । हतार, हतास र विध्वंसका वातावरणमा यथाशक्य छिटो पीडितलाई प्रकोपस्थलबाट निकालेर सुरक्षित गर्न आफैमा संघर्षपूर्ण चुनौती हो । जति समय बित्दै जान्छ उद्धारको प्रभावकारिता र पीडितको सुरक्षित हने संभावना क्षिण हुदैं जान्छ । पीडितको पीडा अझ बढ्न थाल्छ भनें प्रकोपको असर भारी हुदैं जान्छ र क्षतिको आयतन वृदि हुदै जाने प्रवृत्ति हुन्छ । उद्धारकर्मी र पीडितको सामन्जस्य यस्ता संकटको घडीमा जीवन मरणको बिचमा रहेकोे हुन्छ । उद्धारकर्मीको कार्यकुशलता, प्राविधिक सीप र साधनश्रोतको उपलव्धताले पीडितको बाँच्ने अधिकार सुनिश्चित गर्नमा मद्दत गर्दछ । उद्धारकर्मीको दक्षता र तत्परताले मात्र आधुनिक प्रविधियुक्त बैज्ञानिक उपकरणको अभाव र प्रयोग शुन्यतालाई परिपुर्ति गर्न सक्दैन । मानिसको जीवन अपुरणिय र अतुलनिय हुनाले भौतिक संसाधनको कमी विकल्परहित हुन्छ । यान्त्रिक उपकरण सानो वा ठूलो जे जस्तो स्वरुपमा हुन्छ उपयोृगिताको प्रयोजनका लागि अनिवार्य शर्त हो । घटना, परिघटना र दृक्ष्टान्तहरुले अनुभव र ज्ञानकोमार्ग निर्देश गरेको वर्तमान सन्दर्भमा सरोकार पक्षहरुलाई अब मिच मारेर बस्न शोभा दिदैंन । राष्ट्रकालागि मानवता, देश र जनताका निम्ति सुरक्षा निकायहरुलाई विज्ञान र प्रविधिको साधनले सुसज्जित बनाउनमा भएको ढिलाई वा अवरोधलाई पन्छाउन शिक्षा लाभ भएको छ ।
             सुरक्षाको विषय विपद्को सेरोफेरोमा मात्र सिमित रहदैंन । सुरक्षा र विकास एक आपसका परिपुरक हुन् । कुनै एकको अभावमा अर्काको अवस्थिती संकटमा पर्न सक्दछ । सुरक्षा बहुआयामिक र समयानुकुल हुनु पर्ने भएकोले साधन होइन साध्यको रुपमा रहेको हुन्छ । नेपाल सरकारका सचिव जयमुकुन्द खनाल भन्नु हुन्छ सुरक्षाफौजले राष्ट्र तथा जनता प्रतिको उत्तरदायित्व निर्वाह गरेका दृष्टान्तहरु नेपाली जनताले प्रत्यक्ष देखेका छन् । फेसबुक तथा ट्वीटर जस्ता विद्युतिय संजालहरुमा सुरक्षाकर्मीहरुको देश विदेश सबैतिरबाट खुला हृदयले विभिन्न आलंकारिक विशेषणहरुले सम्वोधन तथा सह्राना गरेको प्रष्ट छ । विदेशी उद्धारकर्मी मित्रहरुको उन्नत किसिमका उपकरण तथा हेलिकप्टर जस्ता साधनहरु हाम्रा सुरक्षाकर्मीहरुको साथमा भई दिएको भए वर्तमान भूकम्प हताहतको तथ्याङ्क अवश्य फरक हुने थियो होला । सचिव खनाल अगाडी भन्नु हुन्छ निजामती तर्फका राष्ट्रसेवक कर्मचारीहरुलाई प्रकोप उद्धार संवंधि तालिम प्रदान गरिनु आवश्यक रहेको भन्नुमा कसैको बिमती नहोला । सबै मन्त्रालयहरुमा प्रकोप व्यवस्थापनको प्रशिक्षित कर्मचारीको प्रवन्ध हुनुलाई पुर्व तयारीको चरण अन्तर्गत लिन सकिन्छ ।
            इतिहासबाट तथ्याङ्क विश्लेषण र निस्कर्ष निकाल्न सकिन्छ जस्तै जापानमा ९ रेक्टर स्केलको भूकम्पले क्षति पुयाउन सक्दैन भनें ७ रेक्टर मापनको धक्काले हाइटीमा (सन् २०१०) ठुलोे जनधनको क्षति पु¥याएको थियोे । नेपालकै सन्दर्भ जोडेर हेर्दा यतिकै घनत्वको भूकम्प जापान र कोरिया हाम्रै जस्ता उच्च भुबनौट भएका देशहरुमा गएको खण्डमा क्षतिको मात्रा तुलनात्मक हाम्रो भन्दा नियन्त्रित एवं न्युन हुने थियो भनि रत्ति भर शंका मान्नु पर्दैन । पूर्व तयारी तथा जागरुकता सशक्त अस्त्रको रुपमा प्रयोग गर्नु क्षति न्युनिकरणको सफलता हो । भूकम्पले कमजोर भौगोलिक धरातललाई तहसनहस गरी प्राकृतिक संरचना बदल्न सक्छ । नेपालको पछिल्लो ठूलो भूकम्पको कारण काठमाडौंको भूगर्भ अवस्थिती दक्षिण तर्फ सरेको र उचाईमा फरक आएको बैज्ञानिक प्रमाणिकरण भएको दाबी सार्वजनिक भएका छन् । (कान्तिपर, २६ बैशाख २०१५ पृष्ठ १ यस कारण गयो महाभूकम्प) 
           भूकम्पका कारण धेरै ठाउँहरुमा भुस्खलन हुन सक्ने गरी डाँडाका ढुंगामाटा वृक्षआदि जमीनको पकड भएको जडबाटै कमजोर हुन गएकोे सहज अनुमान गर्न सकिन्छ । भूकम्प पछी पछी पहिरो आउन सक्ने सम्भावना त छदैंछ त्यसमाथि फेरी वर्षादको मौसम लगतै आउने तरखरमा हुनाले पहिरोको त्रास अझ बढी प्रबल भएको छ । (द काठमाण्डु पोष्ट, २६ बैशाख २०१५ पृष्ठ ३ लैण्डस्लाइड्स इनड्युस्ड बाय नेपाल अर्थक्वेक २०१५) यसका लागि अहिले बचावका योजना, पूर्व तयारी र घटना पछीका उद्धार एवं राहतको तयारी गर्न तत्परता अपनाउनु पर्ने वाध्यात्मक स्थिती छ । पूर्व जानकारीमुलक प्राकृतिक सूचना प्राप्त हुनु तयारीमा जट्न समय प्राप्त गर्नु हो । अकस्मात हुने घटनामा क्षतिको गम्भिरता भयावह हुन सक्दछ तर मानसिक तयारीका साथ प्रकोप मुकाबिला गर्न तम्तयार हुनु चुनौतीलाई स्विकार्नु हो । सुरक्षा संयन्त्रले नसुनेको, नदेखेको र कल्पना बाहिरका प्रकोप एवं संकटको सामना गर्न सदैव तत्पर रहनु फौजी मर्म हो । आकस्मिकतामा नपरी परिस्थितिलाई नियन्त्रणमा लिन सक्ने विशेष चरित्र बोकेको सुरक्षा संयन्त्र हरदम सुखदुःखमा साथ दिने जनताको अभिन्न अंग हो ।



२०७२ बैशाख २९

प्रकाशित :
नयाँ पत्रिका राष्ट्रिय दैनिक
वर्ष ९ अंक ६१, २०७२ जेष्ठ ३१ गते