Friday, December 2, 2016

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको संक्षिप्त परिचयात्मक पर्यवेक्षण Np



राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको संक्षिप्त परिचयात्मक पर्यवेक्षण

डा. कृष्ण कुमार तामाङ
सप्रअमनि, कार्यकारी निर्देशक

सशस्त्र प्रहरी बल नेपालको प्रथम अर्धसैनिक संगठनको नामले परिचित छ । सुरक्षाको बहुआयामिक पक्षहरु मध्ये शान्ति बहाली तथा अमनचयन कायम राख्नमा सशस्त्र प्रहरी बलले मौलिक पहिचान बनाएकोे छ । देशमा चरम असुरक्षा र उग्र अशान्तिबीच स्थापना भएको सशस्त्र प्रहरी बलले सर्वसाधारण नागरिकमा सुरक्षाको प्रत्याभूती दिलाउन तथा राज्यको उपस्थिती जनाउन स्थापनादेखि १५ वर्षको अवधिमा देशमा भएका विभिन्न सघनमहत्वका सुरक्षाकार्यहरुमा यथेष्ट योगदान गरेकोे छ । २०७२ बैशाखको विनाशकारी भूकम्प पीडित उद्धारमा असल जनमैत्रीको छबी बनाउन संगठनले अपारसफलता प्राप्त गरेको छ । सशस्त्र प्रहरी ऐन २०५८ निर्देशित कार्यादेशहरुको सकुशल प्रभावकारी सम्पादन हुनुले जनमानसमा यो संगठन विश्वास र भरोसाको पर्यायवाची बनेको छ भन्नुमा कदाचित अत्युक्ति नहोला ।
विज्ञान र प्रविधिको विकाससंगै सुरक्षा व्यवस्थापनको कार्य चुनौतीपूर्ण, जटिल र संवेदनशील बन्दै गएको परिप्रेक्ष्यमा सुरक्षाफौजलाई समयानुकुल परिष्कृत तथा परिमार्जित गर्दैे क्षमता प्रवद्र्धन र आधुनिकिकरण उन्मुख हुनु अपरिहार्यतालाई सम्वोधनगर्न राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको स्थापना २०६४ असोज ३० गते नेपाल सरकारको निर्णयले सशस्त्र प्रहरी उपरिक्षक र २०६४ पौष २५ गते नेपाल सरकारको विशिष्ट श्रेणी तहको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(कार्यकारी निर्देशक) प्रमुख रहने गरी भएको हो ।
राष्ट्रिय सप्रबल प्रशिक्षण प्रतिष्ठान काठमाडौं उपत्यकाको दक्षिणपश्चिम, शहरको मध्यभागबाट १५ किलोमिटर र सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्वयम्भूबाट ७ किलोमिटरको दूरीमा चन्द्रागिरी नगरपालिका वडा नं. ११ मातातिर्थको तीनतिरबाट उच्च पहाडहरुको घना जङ्गलले परिवेष्टित मनोरम भूभागमा रहेको छ 
                २०७० असार १ गते नेपाल सरकार र चीन सरकारबीच सम्झौतामा हस्ताक्षर भएर २०७१ मसिर १२ गतेबाट ३ सय १८ रोपनी क्षेत्रफलमा राष्ट्रिय सप्रबल प्रशिक्षण प्रतिष्ठान निर्माणप्रक्रियाले गति लिएको हो । २०७१ पौष ११ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा एक समारोहकाबीच नेपालका गृहमन्त्री र चिनियाँ विदेशमन्त्रीबाट कुल लागत रु.३ अर्ब ६० करोड योजनाको संयुक्त शुरुआत गरिएकोमा २०७१ फागुन १४ गते शिलान्यास गरी २०७४ जेष्ठ महिनाभित्र निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण भएकोे थियो ।
२०७२ सालमा अन्तर्राष्ट्रिय दक्षिणी सीमानाबाट केहीसमय निर्माणसामग्री नेपाल भित्रिन नसकेर निर्माणकार्य प्रभावित हुन पुगेको थियो तथापि यथासक्य पुर्वनिर्धारित मिति अगावै निर्माणकार्य समपन्न गर्न प्रयासस्वरुप निर्माणस्थल प्राविधिक प्रमुख इञ्जिनियर दोङ्गको भनाइमा २०७३ असौज १५ गतेसम्म प्रतिष्ठानको बाह्य ७५% र आन्तरिक कार्य ७०% सम्पन्न भई सकेको छ । निर्माण प्रारम्भ भएदेखि सम्पन्न हुँदासम्मको अन्तरिमकाल निर्माणस्थल मातातिर्थबाट दक्षिण ४ किलोमिटरको दूरीमा सप्रबल निलबाराही गण, बलम्बुको परिसरभित्र प्रतिष्ठानलाई उपलव्ध भएका भवनहरुबाट दैनन्दिन कार्यालय तथा प्रशासनिक कार्यहरु सञ्चालन हुने गरेका छन् ।
राष्ट्रिय सप्रबल प्रशिक्षण प्रतिष्ठानको उद्देश्य र लक्ष्यमा समाहित हने विषयवस्तु अन्तर्गत सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीम¸ युवक अधिकृत तालीम¸ गुल्मपति तथा स्टाफ अधिकृत तालीम¸ गणपति तालीम¸ सिनियर कमाण्ड तालीम¸ व्यवस्थापन तथा योजना तालीम¸ सुरक्षा व्यवस्थापन तालीम¸ र उच्च स्तरीय व्यवस्थापन तालीम समाविष्ट अन्य विविध व्यवसायिक तालीमहरु हुनेछन् । यसका अतिरिक्त, सप्रबलको प्रशिक्षण नीति निर्माणमा सापेक्ष परामर्श दिने¸ सशस्त्र प्रहरी बलको नीति अनुरुप विविध तालीम पाठ्यक्रम विकास गर्र्ने¸ प्रतिष्ठानको जिम्मेवारीक्षेत्र तर्जुमा गर्ने¸ र तालीम एवम् सुरक्षा सम्वद्ध समसामयिक विषयहरुउपर गोष्ठी, कार्यशाला आदि आयोजन गरी विश्लेषणात्मक तार्किक राय प्रस्तुत गर्ने हुनेछन् । व्यवसायिक, कुशल तथा सक्षम जनशक्तिका लागि असल समर्पित राष्ट्रसेवकको उत्पादन¸ कौशल अभिमुखिकरण र वृत्ति विकासका योजना तथा परियोजनाहरुको तर्जुमा, तालीमलाई नतिजामुखी, अन्तर्राष्ट्रिय मापदण्डको बनाउन समयानुकुल अध्ययन, अन्वेषण एवम् गवेषणा मिश्रित अनुसन्धान लगायत प्रायोजन गराउने इत्यादी प्रतिष्ठानको जिम्मेवारी भित्र पर्दछन् । कालान्तरमा विदेशी मित्रराष्ट्र र सप्रबलका विज्ञ तथा शिक्षार्थी अधिकृतहरु शैक्षिक कार्यक्रमको आमन्त्रणमा परस्पर भ्रमण आदानप्रदान तर्फपनि आकषर््िात हुनुलाई प्रगतीको मानक मान्न सकिन्छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ अनुसूची ११(नियम ४८ को उपनियम १) अनुसार बढुवा प्रयोजन एवं पेशागत दक्षता अभिवृद्धिका लागि सशस्त्र प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षक दर्जाले उन्नत तालीम अनिवार्य गर्नुपर्ने प्रावधान रहेकोले २०७३ असार ०२ देखि २२ गतेसम्म सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु सम्मिलित उच्च स्तरीय व्यवस्थापन तालीम र २०७३ असार २२ देखि श्रावण १६ गतेसम्म सशस्त्र प्रहरी उपरीक्षकहरुको व्यवस्थापन तथा योजना तालीम सम्पन्न भएका छन् । प्रतिष्ठानद्वारा विद्यमान भौतिक संरचनाको निर्माणाधिन अवस्था र प्राविधिक कठिनाई सहजिकरण गर्दै उपरोक्त तालीमहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भूमा सञ्चालित गरिएका थिए । २०७३ असौज ६ गतेबाट सशस्त्र प्रहरी नायव उपरिक्षकहरु सम्मिलित जम्मा कार्य ३८ दिवसिय गणपति तालीम काठमाडौं बलम्बु स्थित सशस्त्र प्रहरी बल निलबाराही गणको बन्दोवस्ती सहयोगमा अद्यावधि सञ्चालनमा रहेको छ । विगतमा विभिन्न दर्जागत स्तरका आधारभूत, उन्नत तथा प्राविधिक तालीमहरु प्रतिष्ठानको तत्वावधानमा समपन्न भई सकेका छन् । विषयगत विशेषज्ञ तथा तद््विषयका अनुभवी ज्ञाताहरुको प्रवचन अध्यापनबाट शिक्षार्थी सशस्त्र प्रहरी अधिकृतहरु व्यवसायिक दक्षता एवं व्यवस्थापकिय क्षमता विस्तार क्षेत्रमा लाभान्वित भएका छन् ।
राष्ट्रिय सप्रबल प्रशिक्षण प्रतिष्ठानको पृष्ठभूमी र मूलभूत अभिप्राय प्रशिक्षण केन्द्रित रहनु हो, अपितु देशमा आपतकालिन आवश्यकताका क्षण स्टाफकर्मचारी, शिक्षक र शिक्षार्थीहरु समेतको जनशक्ति शान्तिसुरक्षाकार्यमा परिचालन गर्नु प्राथमिकतामा पर्दछन् । विपद् व्यवस्थापन¸ हुल दंगा व्यवस्थापन¸ उद्धार कार्य¸ विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र अतिविशिष्ट व्यक्तिहरुको भ्रमणको सुरक्षाकार्यहरुमा प्रतिष्ठानले जनशक्ति एवं श्रोतसाधनको अधिकतम परिचालन गरी उत्तरदायी योगदानको महत्वपुर्ण भूमिका निर्वाह गरी आएकोे छ ।


प्रकाशित ः

सशस्त्र प्रहरी विशेषांक
वर्ष १६ अंक १ २०७३ कात्तिक ११ गते


डा.तामाङ केही विषय प्रसंगहरु उपर जस्तै प्राकृतिक प्रकोप, महिला तथा बालबालिका विरुद्धको अपराध, असल शासन, अन्तर्राष्ट्रिय मानविय कानून, बारुदी सुरुङ्ग एवम् सुरक्षा आदिको प्रशाासनिक तथा व्यवस्थापकिय दृष्टिकोणबाट यथार्थपरक लेख, तथ्यगत रचना र गवेषणात्मक लेखनमा रुचि राख्नु हुन्छ ।
उहाँले पिजि (अन्तर्राष्ट्रिय मानविय कानून), स्नातकोत्तर (प्रकोप न्युनिकरण), स्नातकोत्तर (अपराध शास्त्र), एम फिल      (प्रहरी प्रशासन) र विद्यावारिधि (जनप्रशासन) गर्नु भएको छ । देश विदेशमा गरेका सुरक्षा व्यवसायिक प्रशिक्षणहरु, संयुक्तराष्ट्रसंघको शान्तिस्थापनार्थ मिसनहरु, सुरक्षा तथा द्वन्द्व व्यवस्थापन विषयक गोष्ठी आदि अमेरिका, युरोप, एशिया र अफ्रिकी महादेशहरुबाट संगालेका अनुभवले उहाँलाई कुशल प्राज्ञिकको पृष्ठभूमीमा उभिन थप मद्दत पुर्याएको छ । उहाँका लेखहरु http://drkktamang.blogspot.com/ मा हेर्न सकिन्छ ।

No comments:

Post a Comment