Friday, August 7, 2015

विपद् व्यवस्थापनमा सामान्य झै लाग्ने गम्भिर पक्षहरु : एक विवेचना Np


विपद् व्यवस्थापनमा सामान्य झै लाग्ने गम्भिर पक्षहरु : एक विवेचना


बर्सेनि संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय प्राकृतिक प्रकोप न्युनिकरण दिवस अक्टोवर महिनाको दोस्रो बुधवार प्रकोपको जोखिम न्युनिकरणकै महत्वका लागि मनाउदै आएको छ । यसले विश्वव्यापी जनता तथा सरकारहरुलाई उक्त किसिमका जोखिम प्रतिरोधी समुदाय एवम् राष्ट्र निर्माणमा उत्प्रेरणा प्रदान गर्दछ । त्यस अवसरमा संचार माध्यमहरुमा अभियानकै रुपमा प्रचार प्रसार तथा जनजागरणमा आधारित कार्यक्रमहरु प्रसारित हुन्छन् । सरकारी, गैरसरकारी संघ संस्थाहरु, शैक्षिक प्रतिष्ठान आदि जागरुक नागरिकहरुको समुहद्वारा आयोजना हुने नागरिक सचेतना अभिवृद्घि कार्यक्रमहरु अन्तर्गतका नाटक मञ्चन, चित्रकारिता, फोटोग्राफी प्रतियोगिता, कथावाचन, प्रभात फेरी, वृक्षारोपण, गोष्ठि संचालन, अन्तरक्रिया जस्ता अनेकन् क्रियाकलापहरु हुने गर्दछन् । मुल उद्देश्य विश्वभर धेरै  मानिसहरुले जिउधनको नोक्सानी अप्रत्याशित रुपमा बेहोर्नु परेको प्राकृतिक प्रकोपको रोकि नसक्नु तितो सत्यको न्युनिकरण गर्नु हो । प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प, बाढी, पहिरो र आगजनी नेपालको परिप्रेक्ष्यमा प्रायसः हुने गरेको पाइन्छ । विगत प्रकोपहरुको अध्ययनले ठूलो संख्यामा देशको जनधनको क्षति भएको तथ्याङ्क प्रस्तुत गर्दछ भने आउँदा दिनहरुमा बढी जनघनत्व, भवन संरचनाहरुको बाहुल्यता र प्राकृतिक श्रोतहरुको अत्याधिक दोहन जस्ता कारणहरुले अझ बढी विभत्स दुर्घटना हुने संभावना अत्यधिक बढेर गएको वास्तविकता नकार्न सक्ने अवस्था छैन ।
       वि.सं. २०६६ बैशाख १० गतेको एउटा ज्वलन्त दृष्टान्त, रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप गाविस वा.नं. ८ मा नजिकको मानव बस्ती तर्फ बारीपाखा सामुदायिक बनको डढेलो रोक्न खटि गएका १३ जना नेपाली सेनाका फौजले जिउदै आगोको घेराबन्दिमा परेर बीर गति प्राप्त गरे । त्यसता दुखद दुर्घटना हुन नदिन सुरक्षाका लागि खटि जाने सुरक्षाकर्मी स्वयम् पहिले सुरक्षित रहनु सक्नु पर्दछ । शारिरीक बल र कौशल मात्र प्रकोप नियन्त्रण वा मत्थर पार्न पर्याप्त हुन सक्दैन ।
        सन् २००० सेप्टेम्वर ११ तद् अनुसार वि.सं. २०५७ भाद्र २६ गते अमेरिकाको ट्विन टावर माथि आतङ्ककारी हमलामा हताहत जन समुदायको तत्काल उद्घारका लागि गएका सुरक्षाकर्मीहरुमाथि पनि विशाल भवनको जल्दै गरेको भग्नावशेष खस्नाले अर्को मार्मिक दुर्घटना हुन गएको थियो । त्यसतै दुर्घटना वि.सं. २०४५ सालको भुकम्पको विनाशबाट पिडित जनताको राहतका लागि खाद्यान्न वितरण हुदा भक्तपुरमा भएको अनियन्त्रित भिडको किचाईबाट अकारण कतिले ज्यान गुमाएका थिए ।
        यो पंक्तिकार आफु संयुक्त राष्ट्रसंघको शाति स्थापनाका लागि सन् २००१ मा पूर्व युगोस्लाभिया कोसोभोमा सेवारत छदा सडकमा सवारी दुर्घटनाका घाइतेहरुलाई उद्घारका निम्ति उठाउन जॉदा संगैका अन्तराष्ट्र्रिय प्रहरी सहकर्मीहरुका साथ हातमा मेडिकल पञ्जा लाएर मात्र अघि बढेको संस्मरण ताजै रहेको छ । घाइतेको अङ्गभङ्गबाट भएको रक्तश्राव उद्घारकर्ताको शरीर र लुगामा लतपतिन गई एड्स र हेपाटाइटिस बी जस्ता रोगको संक्रमणको सम्भावना प्रति पूर्व होशियारी अपनाउनु प्राथमिकतामा पर्दछ । अर्कातिर, संक्रमित सुरक्षकर्मीको आप्mनै हात पाखुरामा कुनै खटिरा वा चोट पटक भए त्यसैबाट घाइतेको रगत माध्यमबाट घाइतेलाई संक्रमणको अर्को जोखिम थप हुन सक्दछ । भुकम्प अथवा अन्य कुनै कारणवश भत्किएका भवन जस्ता कुनै संरचनाले दबिएका घाईतेको उद्घार कार्यमा बडो जतनसाथ उपलव्ध भए सम्म प्रशिक्षित जनशक्तिको सहायता लिनु पर्दछ । अन्यथा मुढे बलको भरमा ढंग नपुराएकै कारण अन्जानवश घाईतेको जिउ ज्यान संकटमा पर्न सक्दछ ।
        अनेक किसिमका अस्वाभाविक प्रकृतिका घटनाहरुमध्ये अपवादका रुपमा कहिले कॉही आगजनी अथवा विपत्ती भएका स्थलमा उपस्थित सबै सहृदयी र सहयोगी हुन्छन भन्नें हुदैंन । मौकाको ताकमा रहेकाहरुले लुट्ने कार्यमा ध्यान मोडेर घाईतेहरु प्रति बेवास्ता गर्दै मानविय कमजोरी नियन्त्रण गर्न नसक्ने पनि हुन सक्छन । अनावश्यक रमितेको भिड सर्वथा बर्जित गर्नु पर्दछ । जीवितहरुले आफ्ना प्रियजनको खोजिमा यताउता दौडने क्रियाकलाप गर्दा उद्घारकर्मीहरुलाई वाधा पुग्न सक्छ तसर्थ त्यस घडीमा संयमता र सम्वेदनशीलता अपरिहार्य हुन्छ । जापानको कोबे स्थित माइको हाई स्कुलका विद्यार्थीहरुले  UNCRD Hyogo Office NSET-Nepal को सहायताले अन्तराष्ट्र्रिय कार्यक्रम मार्फत यस्तै जीवन रक्षक उपायहरु सिकाउन अनुभवको आदान प्रदानका लागि नेपालसंग संल्ग्न हुनु प्रशंसनिय कार्य गरि रहेका छन् । ती सबलाई साधुवाद
        धेरै घटनाहरु छन् जसको फेरिस्त लामो बन्छ उदाहरणको लागि घाईतेको प्राण रक्षार्थ द्रुत गतिको एमबुलेन्स आफै दुर्घटनाग्रस्त हुनु । उद्घारकर्ताले मनन गर्नु पर्नेकुरा नअत्तालिएर धैर्यपुर्वक सुरक्षाको सर्वोपरि महत्वको सिद्घान्तलाई अंगिकार गर्नु हो । अतएव उद्घार एवम् राहत कार्यमा संल्गन जनशक्ति पहिले आफै सुरक्षित रहे मात्र अरुको सुरक्षा गर्न सक्दछ । त्यसैले त हवाई जहाजको उडान हुनु अघि यात्रुहरुलाई आपतकालीन अवस्थामा सुरक्षाको पूर्व जानकारी गराउने सन्दर्भमा पहिले अभिभावकले अक्सिजनको मकुण्डो(mबकप) प्रयोग आफैलाई गरेर मात्र शिशुलाई सघाउनु निर्देशनमा भनिएको हुन्छ ।
         विपद् व्यवस्थापन सिलसिलेवार र क्रमिक योजनावद्घ ढंगबाट अन्य सम्बद्घ निकायहरु संगको समन्वयात्मक एवम् सहकार्यको परिचालनबाट व्यवस्थित, सहज तथा प्रभावकारी बन्न सक्दछ । 

२०७० मंसिर १९
प्रकाशित :
वार्षिक विशेषाङ्क माघ २, २०७०
सशस्त्र प्रहरी बल
विपद व्यवस्थापन तालिम केन्द्र, कुरिन्टार

No comments:

Post a Comment